चितवन : एचआइभी सङ्क्रमितले पनि स्वस्थ बच्चा जन्माउन सक्छन् भन्ने उदाहरण चितवनका तीन जोडीले दिएका छन् । सङ्क्रमित ती जोडीले जन्माएको बच्चामा भने सङ्क्रमण छैन । अन्य स्वस्थ बच्चासरह उनीहरूले बच्चा जन्माएको भन्दै हौसलास्वरुप आज चितवनमा उनीहरूलाई सम्मान गरिएको छ ।
जिल्ला एड्स समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यक्रममा भएको सम्मानपछि सङ्क्रमित जोडीमध्येका एक सुजन थापाले आफूले समाजका लागि एउटा उदाहरण र सन्देश पेस गरेको बताउनुभयो ।
“सङ्क्रमितले पनि स्वस्थ बच्चा जन्माउन सक्छन् भन्ने उदाहरण हामीहरूको हो”– उहाँले भन्नुभयो–“अन्य सङ्क्रमितका लागि पनि यो प्रेरणाको स्रोत हुनसक्छ ।” यस्तै सङ्क्रमितमध्येका अर्का एक धिरेन्द्र अधिकारी दम्पतीको पनि एउटा छोरी जन्मिएको छ । उहाँहरूको छोरीमा पनि एचआइभी सङ्क्रमण नभएको थाइल्यान्डको डिएनए परीक्षणले देखाएको उहाँले बताउनुभयो ।
विगत लामो समयदेखिको समाजको दृष्टिकोणमा अझै पनि परिवर्तन हुन बाँकी भइरहेको बेला आफूहरूको यो प्रयासले सङ्क्रमितलाई हौसला मिलेको उहाँले बताउनुभयो । समाजमा अझै पनि एचआइभी सङ्क्रमितलाई हेय र भेदभावको दृष्टिकोणले हेर्ने गरेको जिल एड्स समन्वय समिति चितवनले जनाएको छ ।
आजै जिल्ला एड्स समन्वय समिति चितवनले आफ्नो वार्षिक समीक्षा गोष्ठीसमेत सम्पन्न गरेको छ । कार्यक्रममा समितिका कार्यक्रम संयोजक रामहरि न्यौपानेले सामाजिक दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
साथै उहाँले हेय र भेदभावरहित समाज निर्माणका लागि सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । समितिले भेदभावरहित समाज निर्माण गर्ने तयारीस्वरुप व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रममार्फत १० हजार ५५ जनालाई प्रशिक्षित गरेको बताएको छ ।
त्यस्तै हेय र भेदभाव न्यूनीकरणसम्बन्धी कार्यक्रममार्फत ८१६ जनालाई तालिम दिएको समितिका कार्यक्रम संयोजक रामहरि न्यौपानेले बताउनुभयो । चितवनमा ९०५ जना एचआइभी सङ्क्रमित रहको तथ्याङ्क छ । अहिले तीमध्ये ४२२ जनाले नियमित औषधि सेवन गरिरहेको समितिले जनाएको छ । नेपालमा ५० हजार २८८ जना एचआइभी सङ्क्रमित रहेको अनुमान गरिएको छ । रासस
-२२ असोज









0 comments:
Post a Comment