एचआइभी सङ्क्रमितका असल साथी

झण्डै १० वर्षअघि एक गीतिनाटक हेर्न बनेपा पुगेका पनौतीका कमल बञ्जारा (२८) को लक्ष्य सोही गीति नाटकले परिवर्तन गरिदियो । र, अहिलेसम्म निरन्तर हिँडिरहेका छन् सोही नाटकको भावना बोकेर । ‘काम गर, फलको आश नगर’ भन्ने आहानलाई मनमा साँचेर १० वर्षदेखि निरन्तर एचआईभी संक्रमितको खोजी गर्दै हिँडिरहेका छन् उनी र उनीहरुको हकअधिकारको लागि आवाज बुलन्द पार्छन् । के थियो त्यो गीति नाटकमा ? ‘त्यसमा एचआइभी संक्रमितले भोग्नुपरेका पीडाका कुरा थिए’ एचआइभी संक्रमितका ‘असल साथी’ यी युवाले भने, ‘त्यसैले मलाई छोयो ।’
गीतिनाटक हेर्दाहेर्दै एचआइभी संक्रमितका लागि काम गर्छु भन्ने अठोट गरिसकेका थिए उनले । नाटकको अन्त्यमा एचआइभी संक्रमित दिलिप थापाले आफूले भोग्नुपरेका पीडा वताउन थालेपछि त उनले जीवनभर एचआइभी संक्रमितको अधिकारका लागि लड्छु भन्ने कसम नै खाए रे ! कार्यक्रम सकिएपछि उनले दिलिप थालालाई भेटे । ‘दाई म पनि तपाईंसँगै काम गर्छु’ थापासँग उनले सँगै काम गर्ने मनसाय व्यक्त गरे । तर, आफू एचआईभी संक्रमित भएको वताउँदै हिँड्दा निकै हण्डर र ठक्करहरु भोगेका थापाले उनलाई सहजै यो क्षेत्रमा स्वागत गर्न सकेनन् । त्यसमाथि भर्खर विद्याल
य सकेको एउटा अल्लारे ठिटाले एचआईभी संक्रमितहरुको लागि काम गर्छुभन्दा सहजै पचाउन सक्ने कुरा पनि त थिएन । ‘बाबु यो क्षेत्रमा काम गर्न धेरै गाह्रो छ, हामीजस्ता मानिसहरुसँग हिँड्दा लाञ्छानाबाहेक केही पाइँदैन’ यसै भनेका थिए थापाले उनलाई । नेपालमा पहिलोपटक आफू एचआईभी संक्रमित भएको सार्वजनिक गर्ने व्यक्तिमध्येमा एक थिए दिलिप थापा । त्यसपछि घर फर्केका बञ्जारालाई केहीदिनसम्म सोच्न बाध्य बनायो थापाको भनाईले । तै पनि अब यही क्षेत्रमै लाग्छु भनेर अठोट गरिसकेका उनलाई थापाका कुराले रोक्न सकेन । पुनः केहीदिनपछि थापालाई भेटेर सँगै काम गर्ने कुरा दोहो¥याउँदै उनले भने, ‘म तपाईंलाई साथ दिन्छु, सँगै काम गरौं ।’ त्यसपछि थापासँग हातेमालो गर्दै अगाडि बढेका बञ्जाराले अहिलेसम्म पछाडि फर्केर हेरेका छैनन् । निरन्तर एचआईभी संक्रमितकै लागि भनेर आफ्नो समय खर्चिरहेका छन् ।
र, त्यसैको परिणाम थियो–विश्व एड्स दिवस–२००९ को अवसरमा काभ्रेमा विभिन्न कार्यक्रमहरु भइरहँदा उनी झोलाभरि एचआइभी संक्रमितले खाने एआरभी औषधी बोकेर हिँडिरहेका थिए । एड्स दिवसमा सानो कार्यक्रम गरेर बजेट सक्ने कामप्रति उनको मोह थिएन । किनकि उनलाई लागेको थियो एकदिने कार्यक्रमले संक्रमितलाई केही दिँदैन । अहिलेसम्मको कामबाट उनले सिकेको पाठ पनि त्यही हो । जति नै भाषण ठोके पनि संक्रमितको पीडा निकै कमले मात्रै बुझेका छन् ।

०००
सुरुमा एचआईभी संक्रमितसँग हिँड्दा, बोल्दा र उनीहरुकै पक्षमा आवाज उठाउँदा बञ्जाराले कति समस्या भोगे त्यसको कुनै लेखाजोखा नै छैन । जुनबेला एचआईभी संक्रमित हुनु वा एड्स लाग्नु भनेको सबैभन्दा ठूलो महापाप गरेको ठहरिन्थ्यो । सोही बेला यो क्षेत्रमा लागेका थिए उनी । समाज सकारात्मक थिएन एचआईभी संक्रमितप्रति । मानिसहरु एचआइभी संक्रमितलाई घृणाबाहेक केही गर्दैनथे । यस्तो बेलामा एचआईभी संक्रमित व्यक्तिसँग सँगै हिँड्नु, सँगै खानु र उनीहरुसँगै दिन विताउनु निकै कष्टकर थियो । ‘फलामको चिउरा चपाएजस्तो भयो सुरुमा’ बञ्जारा अहिले सम्झन्छन्, ‘मैले जति कष्ट भोगें सायद अरुले त्योभ न्दा निकै कम भोगे होलान् ।’ उनी यो क्षेत्रमा लाग्नुभन्दा अगाडि सँगै बस्ने, एउटै थालमा भात खाने साथीहरुसमेत बोल्न छाडेको वताउँछन् बञ्जारा । ‘केही साथीले त बोलचालसमेत पूर्णरुपमा वन्द गरेका थिए’ उनी भन्छन्, ‘हात मिलाउनसमेत मान्दैनथे कति साथीले त ।’
एकपटक बिरामी परेर उनी स्थानीय एक अस्पतालमा उपचारका लागि पुगे । तर, एचआइभी संक्रमितसँगै हिँडेको देखेका डाक्टरले उनको उपचार गर्न अन्कनाए । ती डाक्टरले पनि बञ्जारालाई एचआईभी संक्रमित भएको ठानेका रहेछन् । पछिमात्रै उनलाई एचआईभी नभएको थाहा पाएपछि उनलाई देखेपछि ती डाक्टरले मुख खोल्न सकेनन् रे !

बाटोमा हिँड्दासमेत उनले धेरैको कटुवचन सहनुप¥यो । ‘अघिपछि बोल्ने मान्छेले मुन्टो बटारेर हिँडेपछि मलाई निकै दुःख लाग्थ्यो’ बञ्जारा भन्छन्, ‘विचरा, यति सानो उमेरमा एड्स लागेछ भन्ने पनि धेरै थिए ।’ आफूले भोग्नुपरेको दुव्र्यवहारका घटनाको गणना गरेरै नसकिने वताउँछन् उनी । अझ घरपरिवारमा भोग्नुपरेका समस्याको कुरै छाडौं । उनी अहिले पनि त्यसबेला परिवारमा भोग्नुपरेको समस्या सम्झन्छन् । ‘गाउँमा धेरैजसोले लागुपदार्थ दुव्र्यसनी र एड्स रोगी भन्ने गर्थे’ आफ्ना विगत कोट्याउँदै बञ्जाराले भने, ‘उनीहरुले घरमा समेत तेरो छोरो एचआईभी संक्रमित हो भन्दै कुरा लगाइदिन्थे ।’ १४ वर्षकै उमेरमा बिहे भएको थियो उनको । उनकी श्रीमतिलाई पनि ‘एड्स रोगीकी श्रीमति’ भन्दै खिसी गर्नेको ताँती नै थियो । यो क्षेत्रमा लागेको महिनौंसम्म दिनहुँजसो श्रीमतिसँग ठाकठुक परेको सम्झन्छन् बञ्जारा । ‘तर, अहिले सबैभन्दा ठूलो साथ नै श्रीमतिको छ’ उनी भन्छन् ।
०००
एचआईभी संक्रमितका लागि उनले पु¥याएको योगदानको कदर गर्दै केही वर्षअघि राष्ट्रिय एचआईभी एड्स महासंघले उनलाई सम्मान गरेको थियो । सम्मानपत्र पाएपछि हौसिँदै घर पुगेका बञ्जाराले श्रमितिलाई आफूले पाएको सम्मानपत्र देखाए । तर, श्रीमति खुशी भइनन् । उनको भनाई थियो, ‘तपाईंको सम्मानपत्रले मात्रै पेट भरिँदैन, यसलाई तरकारी बनाएर खान पनि मिल्दैन’ अहिलेपनि सम्झिरहेका छन् उनले यो भनाईलाई । यस्ता भनाईले धेरैपटक उनलाई यो क्षेत्र छाडौंजस्तो लागेको थियो रे । ‘बीचमा मलाई धेरै डिप्रेसनसमेत भयो’ बञ्जारा भन्छन्, ‘तर, ती संक्रमितको पीडा सम्झेर मलाई छाड्न मन लागेन ।’ एचआइभी संक्रमितले भोग्नुपरेको समस्याका अगाडि आफ्नो समस्या निकै सानो लागेपछि उनले कहिल्यै यो क्षेत्र नछाड्ने प्रण गरेका थिए । ‘जतिसुकै दुव्र्यवहार भोग्नुपरे पनि यो क्षेत्र छाड्दिन भन्ने लाग्यो’ बञ्जारा भन्छन् ।
एनजिओ र आइएनजिओमा लागेर मानिसहरुले लाखौं कमाएका छन् । करोडौंको महल ठड्याएका छन् । अझ पछिल्लो समयमा यो क्षेत्रमा लगानी गर्ने दाताहरुले धेरैलाई रातारात मालामाल बनाएका छन् । बञ्जारा पनि संक्रमितहरु संगठित भएको संस्थाका सदस्य हुन् । सक्रिय प्लस नामक उनी आवद्ध संस्थामा उनीबाहेक सबै संक्रमितमात्रै छन् । तर, अहिलेसम्म आफूले पैसा कमाएको स्वीकार्दैनन् उनी । भन्छन्, ‘मसँगै हिँड्ने साथीहरु कार चढ्ने भइसके म चाहिँ कवाडी मोटरसाइकलमा हुइँकिरहेको छु, त्यो पनि श्रीमतिको कमाइबाट ।’ पैसाकै लागि काम गरेको स्वीकार्दैनन् उनी । यो क्षेत्रमा लागेर कमाएको पैसाले त मेरो पकेट खर्च पनि चल्दैन’ बञ्जारा भन्छन्, ‘यसमा काम गर्नुभन्दा खेतीमात्रै गरेको भए थुप्रै पैसा कमाउँथे होला ।
यो क्षेत्रमा लागेर के कमाए त उनले ? ‘व्यापारमा लागेको भए पैसा कमाउँथे होला तर, यसमा लागेर साथी कमाएको छु’ उनको जवाफ थियो, ‘मेरो टाउकोमा जति कपाल छन् त्यति नै साथी पाएको छु मैले ।’ साँच्चै कति होलान् उनको टाउकोमा कपाल ?

०००
बञ्जारा कपाल पाल्छन् । झट्ट होर्दा ‘ट्यापे’ जस्तो पनि देखिन्छन् । तर, सोही गेटअपले उनलाई आफ्नो क्षेत्रमा काम गर्न सहज बनाएको छ । उनी एचआईभी संक्रमितका लागि मात्रै काम गर्दैनन् । लागुपदार्थ दुव्र्यसनीमा लागेका युवाहरुलाई दुव्र्यसनीको बाटो छाड्न पनि सिकाइरहेका छन् । ‘गाजा खानु नै एचआइभी संक्रमणलाई निम्त्याउने पहिलो बाटो हो’ उनी भन्छन्, ‘लागुपदार्थ सेवनबाट धेरै मानिस एचआईभी संक्रमित भएका छन् ।’ उनलाई कतिले संक्रमित त कतिले दुव्र्यसनीका असल साथी मान्छन् । उनको सम्पर्कमा झण्डै डेढसय दुव्र्यसनी आएका छन् । अधिकांश त्यो बाटो छाड्न चाहन्छन् र उनी तिनीहरुलाई बाटो देखाइरहेका छन् । केही व्यक्ति पुनस्र्थापना केन्द्र पुगिसकेका छन् भने केहीले पूर्णरुपमा त्यो बाटो पनि छाडिसकेको उनी वताउँछन् । केहीको भने लागुपदार्थको ‘ओभरडोज’ का कारण मृत्युसमेत भइसकेको छ ।
सुरुमा उनलाई दुव्र्यसनी भन्दै छिःछिः गर्नेहरु पछि उनीसँग सहयोग माग्दै पनि आएका छन् । ‘दुव्र्यसनीका कुरा गर्दा हाम्रो घर र टोलमा छैन भन्दै तिरस्कार गरेर पठाउनेहरु पछि मेरो मान्छेलाई पनि यसको लतबाट छुटाउनुप¥यो भन्दै आएका छन्’ बञ्जारा भन्छन् । यसले मलाई हौसला दिएको छ । दुव्र्यसनी र एचआईभी संक्रमित खोज्दै काभ्रेका सबै जिल्ला पुगे उनी । छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा र रामेछापका अधिकांश गाउँ पनि चहारिसके । धेरै पटक दुव्र्यसनीलाई साथी बनाउँदै उनीहरुलाई राम्रो बाटो हिँडाउने कोसिस गर्दा धम्की पनि सहनुपरेको छ उनले । तर, कहिल्यै डराएनन् । अहिले भने त्यस्तो समस्या नभएको उनले वताए ।
०००
काभ्रेमा हालसम्म १ सय २७ जना एचआईभी संक्रमित फेला परेका छन् । तीमध्ये २६ जनाको मृत्यु भइसकेको छ । बाँकी जति जीवित छन् अधिकांशको अवस्था दयनीय छ । ‘दलित भन्दा पनि तल्लो स्तरमा राखेर हेरिन्छ उनीहरुलाई’ बञ्जारा भन्छन्, ‘उनीहरुले पाएको दुःखको वर्णन गरेर सकिँदैन ।’ धेरै संक्रमितले घरबाट मात्रै होइन गाउँबाटै निकालिनुपरेको वताए उनले । अझ श्रीमानबाट एचआईभी सरेका महिलाको अवस्था त झनै कहालीलाग्दो भएको वताउँछन् उनी । ‘एचआईभी संक्रमणबाट श्रीमानको मृत्यु भएपछि त्यसको दोष श्रीमतिले खेप्नुपर्छ’ उनी भन्छन् ‘त्यसपछि उनीहरु सम्पतिबाट समेत बञ्चित हुन्छन् ।’
एचआइभी संक्रमितको नाम बेचेर खानेहरुप्रति उनी आक्रोश व्यक्त गर्छन् । पछिल्लो समयमा केही संस्थाले एचआइभी संक्रमितकै तहमा पुगेर काम गरेको भएपनि सयौं संस्थाहरुले लुकेर संक्रमितको नामको पैसा खाइरहेको उनको आरोप छ । भन्छन्, ‘लण्डनमा बसेर कण्डमको पोज दिँदै डलरको खेती गर्नेहरुको कमी छैन ।’ सरकार पनि संक्रमितको हकहितका लागि गम्भीर नभएको उनले वताए । संक्रमितले कानुनी उपचारको अभावमा सम्पतिबाट बञ्चित हुनुपरेको छ, तर कसैलाई वास्ता छैन’ पटक–पटक दोहो¥याए बञ्जाराले । काभ्रेका ग्रामीण क्षेत्रमका थुप्रै एचआइभी संक्रमित भएको उनको अनुमान छ । तर, उनीहरु चेतनाको अभावमा खुल्न सकेका छैनन् । ‘शहरी क्षेत्रमा भन्दा एचआइभी संक्रमितको संख्या गाउँमा धेरै छ’ उनको अनुमानित तथ्यांक छ, ‘१५ सयभन्दा बढी व्यक्ति काभ्रेमै मात्र संक्रमित भएका होलान् ।’ चेलीबेटी बेचविखन, वैदेशिक रोजगारी था लागुपदार्थ दुव्र्यसन एचआएभी सर्नुको मुख्य कारण मान्छन् उनी । भन्छन्, ‘यो क्षेत्रमा यस्ता समस्या धेरै भएकाले जो कोही पनि यसको घेरबाट बाहिर छैनन् ।’ अझै पनि थुप्रै संक्रमितको एआरभीसम्म पहुँच पुगेको छैन । जिल्लामा रक्तपरीक्षण केन्द्रहरु खुलेका छन् तर, फेला परेका संक्रमितको लागि पुनस्र्थापनाको उपयुक्त माध्यम छैन । भन्छन्, ‘एआरभीजस्तो सर्वसुलभ हुनुपर्ने औषधीमै पहुँच नपुगेपछि उनीहरुको अरु कुन सुविधाको कल्पना गर्न सकिन्छ र ?’

0 comments:

Post a Comment

 
कमलको व्लग © 2011 | Designed by RumahDijual, in collaboration with Online Casino, Uncharted 3 and MW3 Forum